देवदह मेलामा एकै दिन २५ हजार दर्शक

  • नगरस्तरीय भलिवलको फाईनल मंगलबार हुने
  • बुटवल, फागुन । ‘उद्योग ब्यापार कृषि र पर्यटनको विस्तार देवदहको समृद्धिको आधार’ भन्ने नाराका साथ देवदहमा जारी मेलामा एकै दिन २५ हजार भन्दा बढि दर्शकले अवलोकन गरेका छन् । मेलामा स्थानीय औद्योगिक उत्पादन, घरेलु उद्योग, कृषिजन्य, हस्तकला, गार्मेन्ट पर्यटन, बैंकलगायतका ४५ जिल्लाका ३ सय स्टलहरु सहभागि भएका छन् ।

    मंगलबार लोक दोहोरी गायक बैकुण्ठ महत, लोक दोहोरी गायिका भिमु गुरुङ्ग, थारुभाषि गायक श्रीनिवास चौधरी, आधुनिक पप गायक कृष्ण क्षेत्री, हास्य कलाकार निशान्त कटुवालले आफ्नो प्रस्तुती देखाउनुका साथमा डान्स आइडल र अन्तर आमा समुह कला प्रतियोगिता हुने मेला अयोजक संस्था देवदह उद्योग बाणिज्य संघले जनाएको छ ।

    रुपन्देहीको देवदहमा भएको नगरस्तरीय अन्तर विद्यालय भलिवलको अन्तिम सेमिफाईनल र फाईनलका खेलहरु मंगलबार हुने भएका छन् । मंगलबार विहान सेमिफाईनलमा देवदहका चार समुहले प्रतिस्प्रर्धा गर्ने छन् भने चारबाट दुईमा परेका समुहले फाईनल खेलमा प्रतिस्प्रर्धा गर्ने छन् । फाईनलमा जान मंगलबार देवदह मावि र कोलिय मावि तथा भविष्य निर्माण मावि ढेकावर र बुद्धपब्लिक माविका विचमा खेल हुने भलिवल संयोजक कपिल गौतमले जानकारी दिए ।

    सोमबार भएको खेलमा देवदह माविले सिक्टन माविलाई हराएको छ भने कोलिय माविले लुम्विनी माविलाई, भविष्य निर्माण माविले केरवानी माविलाई र बुद्धपब्लिक माविले खड्क माविलाई हराएर अन्तिम सेमिफाईनलका लागि स्थान सुरक्षित गरेका हुन् ।

    देवदहमा जारी राष्ट्रिय देवदह औद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सवको अवसर पारेर आयोजना गरिएको भलिवल प्रतियोगितामा देवदह नगरपालिका भित्रका १२ विद्यालय समुहको सहभागिता रहेको थियो । वेष्ट अफ थ्रीमा खेलाइएको भलिवल प्रतियोगिताको विजेता, उपविजेताले नगद, शिल्ड तथा प्रमाणपत्र हात पर्ने बाणिज्य संघका महासचिव हरि भण्डारीले जानकारी दिए ।