तानसेनमा सडक खाना महोत्सव हुने

  • आन्तरिक पर्यटन प्रबद्र्धन गर्दै संस्कृतिको जगेर्ना गर्ने उद्देश्य
  • पाल्पा,  फागुन आन्तरिक पर्यटन प्रबद्र्धन गर्दै संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले तानसेन–६ भीमसेनटोलमा फागुन २४ गते सडक खाना महोत्सव हुने भएको छ । तानसेनस्थित भीमसेनटोल विकास संस्था महिला उपसमितिको आयोजनामा सडक खाना महोत्सव आयोजना हुने भएको हो ।

    गतवर्ष पनि सडक खाना महोत्सवको आयोजना गरेको संस्थाले यसपटक वृहतरूपमा सांस्कृतिक कार्यक्रम सहित महोत्सव गर्न लागेको भीमसेन टोल विकास संस्थाका अध्यक्ष प्रकाशनाथ गोङ्गलले जानकारी दिए । महोत्सवमा नेवारी, थकाली, मगरी, मुस्लिम लगायत विभिन्न जातजातिका परम्परागत खानाका स्टलका साथै सांस्कृतिक कार्यक्रम गरिने आयोजकले बतायो ।

    प्रदेश पाँचमा रहेका स्थानीय खानाहरूको संरक्षण गर्ने, खानाको स्वाद आन्तरिक तथा बाह्य पर्यटकहरूलाई चखाउनुका साथै भीमसेनटोलमा सञ्चालन हुँदै आएको खुला वाचनालाई व्यवस्थित गर्दै टोलको सरसफाई गर्नको लागि आवश्यक रकम जुटाउने उद्देश्यले सडक महोत्सव आयोजना गर्न लागिएको संस्थाले जनाएको छ । संस्थाले बचत भएको रकम टोलको विकासमा खर्चिने बताएको छ ।

    फागुन २४ गते तानसेन टुँडीखेल वाचनालय परिसरदेखि नाराययणस्थानसम्म हुने महोत्सवमा नेवारीको छोइला, यमरी, जुम्ली रोटी, चटामरी, मःम, सेकुवा, मगरी बटुक, चुकाउनी, थकाली, मुस्लिम समुदायको सेवाई, शाही पकौडा, नेपाली कवाव, साही टुक्रा र अन्य जातिय खानाका परिकारको स्टलहरू रहने आयोजकले जनाएको छ ।