जनता र सरकारबीच पुलको काम गर्न कार्यकर्तालाई आग्रह

  • सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ
  • तिलोत्तमा,  फागुन ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा वडा नम्बर २ र ३ को नवगठित शाखा कमिटीको मंगलबार सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । टोल कमिटी निर्माणमा जुटेको नेकपाले मंगलबार वडा नम्बर २ र ३ मा शाखा कमिटीका सदस्यहरुलाई सपथग्रहण गराएको हो ।
    शाखा कमिटी वडा नम्बर २ मा नगर अध्यक्ष मोहन चापागाईंले सपथग्रहण गराएका थिए । त्यस अवसरमा बोल्दै उनले तीनवटै तहमा नेकपाको सरकार रहेकाले जनतालाई परिवर्तनको अनुभूति दिलाउन सक्नुपर्नेमा जोड दिंदै पार्टीलाई जनताको बीचमा लैजान कमिटीलाई आग्रह गरे । उनले पार्टी कमिटी र कार्यकर्ताले जनता र सरकारबीच पुलको काम गर्नुपर्ने बताए ।
    कार्यक्रममा पार्टीका नगर सचिव लक्ष्मण खनाल, वडा नम्बर २ का वडाअध्यक्ष दधिराम गौतम, शाखा कमिटी अध्यक्ष लक्ष्मण ज्ञवाली, सचिव भुवन आचार्यलगायतले बोलेका थिए ।
    त्यस्तै तिलोत्तमा ३ नम्बर शाखा कमिटीका सदस्यहरुलाई पार्टीका प्रदेश कमिटी सदस्य एवं जिल्ला कार्यदलका सदस्य गोपाल भट्टराईले सपथग्रहण गराएका हुन् ।
    कार्यक्रममा बोल्दै भट्टराईले वर्तमान राष्ट्रिय सन्दर्भका विषयमा चर्चा गर्दै पार्टी कमिटीलाई जनताका काममा सक्रिय भइ लाग्न आग्रह गरे । नेकपा तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईंले पार्टी एकताको भावनालाई आत्मसात गर्दै जिम्मेवारी पूरा गर्न र सरकारका राम्रा कामको जनतामा सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गरे । शाखा कमिटीका अध्यक्ष अच्यूत पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका तिलोत्तमा नगर सचिव लक्ष्मण खनाल, शाखा कमिटी सचिव युवराज पराजुली लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।
    कार्यक्रममा हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रविन्द्र अधिकारी र पार्टीका नेता भरतमोहन अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरिएको थियो ।