५० लाख पुरस्कारको लोक स्टार अडिसन बुटवलमा हुदै

  • फागुन २५ गते एभरेष्ट बोर्डिङ्गमा अडिसन हुने
  • बुटवल फागुन
    सर्बाधिक राशी पुरस्कार भएको नेपाल लोक स्टारको बुटवल अडिसन फागुन २५ गते हुने भएको छ । एपी वान टेलिभिजनबाट प्रशारण हुने यो लोक स्टारको अडिसनमा लोक पारखीहरु सहभागी हुन सक्नेछन ।

    बुटवल सुख्खानगरमा रहेको एभरेष्ट बोर्डिङ्ग सेकेन्डरी स्कुलको प्रांगढमा हुने अडिसनमा जुनसुकै उमेर समुहका व्यक्तिहरु सहभागि हुन पाउनेछन् । अडिसनमा सहभागि हुने फर्म समेत सोही दिन भर्न सकिनेछ । अडिसन फागुन २५ गते १० बजेबाट साझसम्म चल्नेछ ।

    ‘सयथरी बाजा, एउटै ताल ।’ नेपाल एक यस्तो भूगोल हो, जहाँ अनेकथरी धून बज्छ । ठाउँ, क्षेत्र, समुदाय, जातजाति अनुसार यहाँको धूनमा भिन्न-भिन्नै मिठास छ । रैथाने लवज, रैथाने भाषाका यस्ता धूनले ‘लोक-संगीतको खुला भण्डार’ बनाएको छ ।
    पूर्वमा मारुनी भाका घन्कन्छ, पश्चिममा देउडा । उत्तरमा तामाङ सेलो बज्छ, दक्षिणमा मैथली । यी विविध भाका, सुर र ताललाई एकसूत्रमा बाँध्दैछ, नेपाली लोक स्टारले । नेपाली संगीतकै भव्य यो रियलिटी शो हो, यो ।

    देशभरबाट लोक गायनमा खारिएका प्रतिभा खोज्ने यस रियलिटी शोमा शीर्ष उपाधी जित्नेले ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी दोस्रो हुनेले २५ लाख रुपैयाँ र तेस्रो हुनेले १० लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् ।
    कार्यक्रम एपिवान-टेलिभिजनबाट प्रशारण हुनेछ । यसका लागि भने अझै केही समय पर्खनुपर्नेछ ।

    कार्यक्रम साढे सातदेखि ८ बजेसम्म प्रत्येक शनिबार र आइतबार प्रशारण हुनेछ । नेपाली लोक स्टारको ३१ भाग बन्ने आयोजक चाहना मिडियाले जनाएको छ ।
    यसमा जो कोहीले भाग लिन सक्छन् । देशभरका ७७ जिल्लाका ९५ वटा एफएम स्टेशनबाट अडिसनको लागि फारम भर्न सकिनेछ । त्यसो त अडिसनकै बेला पनि तुरुन्तै फारम भर्ने सुविधा दिइएको छ । विदेशमा बस्नेहरुले पनि मोवाइल एपको मद्दतले फारम भर्न सक्नेछन् ।
    यसका लागि सातवटै प्रदेशमा अडिसन भईरहेको छ । प्रदेश ७ अन्र्तगत अडिसन धनगढीबाट सुरु भएको अडिसन प्रदेश ६ को सुर्खेत हुदै बुटवल आईसकेको छ ।

    प्रदेश ५ अन्र्तगत फागुन २५ गते बुटवलको एभरेष्ट सेकेन्डरी स्कुलमा अडिसन हुनेछ । यसैगरी प्रदेश ४ अन्र्तगत चैत्र २ गते पोखराको जनपि्रय उच्च माध्यामिक विद्यालय, सिमल चौरमा अडिसन हुनेछ । प्रदेश १ को अडिसन इटहरीमा हुनेछ । त्यहाँको पिस जोन हायर सेकेन्डरी स्कुलमा चैत्र ११ गते अडिसन लिइनेछ । प्रदेश २ अन्र्तगत जनकपुरमा चैत्र १६ गते स्थानिय आरआरएम क्याम्पसमा अडिसन हुनेछ ।

    कार्यक्रममा खुला रुपमा जो कोहिले सहभागी हुन पाउँछन् । जुनसुकै भाषा, जुनसुकै समुदाय, जुनसुकै भूगोलको लोक गीत गाउन सक्छन् । सहभागीको गायकीको आधारमा उत्कृष्ट प्रतिभा छनौट गरिने चाहना मिडिया प्रालिका सहदेव कोइरालाले बताए । यो कार्यक्रमको मार्केटिङ आरएन आइकनले गरेको हो । स्थानिय क्षेत्रमा हुने अडिसनमा स्थानिय संगीत विज्ञलाई निर्णयकको रुपमा निम्त्याइनेछ ।

    यसको मूख्य निर्णयक भने जयनन्द लामा, सुनिता दुलाल, राजमजी खाँड, बिबि अनुरागी रहनेछ । कार्यक्रम संचालन सुभेक्षा खड्का र अशोक धितालले गर्नेछन् । कार्यक्रमको निर्देशन सुरेश पौडेलले गर्ने कार्यक्रमका संयोजक माधव थापाले जनाएको छ । आयोजकले बुटवलमा हुने अडिसनमा सहभागि हुन प्रतिभाहरुलाई आग्रह गरेका छन् ।